गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राई रिहा
काठमाडौँ – काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ ।
हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो ।
घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौं काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।
गएको शुक्रबार मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राई सुरक्षा गार्ड कुमार भुजेल उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीया सुमित्रा भुजेलको हत्या भएको थियो ।